हाम्रो आब्हान

बालसाहित्य पढौं, पढाऔं ।

बालबालिकाको भविष्य उज्ज्वल बनाऔं ।।


Monday, March 19, 2012

Children's Story by Dhurva Thapa, USA न्याहुल र सुगाको प्रेम – ध्रुव थापा, हाल– अमेरिका

  एउटा जंगलको बीचमा ठूलो पोखरी थियो । त्यहाँ हजारौ प्रजातिका चराचुरुङ्गी र वन्य जनावरहरू मिलेर बस्थे । त्यसै हुलमा एउटा न्याहुल सुगा पनि थियो । तिनीहरूको एक अर्कामा प्रगाढ प्रेम थियो । न्याहुल सधैं गाउने र सुगा भने विभिन्न गीतको शब्दहरू सृजना गर्दथ्यो । तिनीहरूमा मित्रता हुनुको मुख्य कारण पनि त्यही थियो । उनीहरूको मित्रता देखेर सबै जनावरहरु इश्र्या गर्दथे ।
    समयको अन्तरालमा तिनीहरू माझ पनि असन्तुष्टी बढ्न थाल्यो । एक अर्काप्रतिको प्रेम भाव, समर्पणमा कमि देखिन थाल्यो । एक दिन जंगलको राजाको मृत्य भयो । अब जंगलको नियम अनुसार नयाँ राजाको चयन हने भयो । राजा बनाउन सबै आ–आफ्नो समर्थन बटुल्न थाले । जंगलमा वर्षौदेखि मिलेर वसेका जनावरहरूमा मतभिन्नता देखिन थाल्यो । राजनीतिले जहिलेपनि यस्तै विभाजन ल्याउछ । दैव संयोग  न्याहुल चिलको पक्षमा लाग्यो भने सुगा मयूरको पक्षमा लाग्यो । चिलले आफ्नो प्रतिनिधि स्वरुप न्याहुललाई उठायो तर सुगा भने मौन सर्मथन झै बस्यो । यसै बीच तिनीहरूको मित्रतामा शंकाको बीजारोपण भयो, प्रेम खोक्रो बन्यो ।
    समय र सागरले कसैलाई पर्खदैन । समयमा भोट भयो भयो । मयूरले बहुमत पाएर विजय बन्यो भने चिल पराजित भई आत्मग्लानिले अन्यत्रै गयो । न्याहुल पनि हुलमा मिसिन छाड्यो । एक्लै बस्ने भयो । उता सुगा भने सवैको सहमतीमा मन्त्री भयो । तर ऊ दुःखी थियो । यस पदमा कारण उसले आफ्नो परम मित्र गुमाएको थियो । सुगाले लाखौं प्रयत्नमा पनि न्याहुलको हृदय जित्न सकेन । बरु ऊ स्वयं चिन्ता र दुःखले अस्वस्थ्य भयो । दिन प्रतिदिन उसको अवस्था अझ करुण हुदै गयो । यसै शोकले एकदिन सुगालाई  अति सतायो उसलाई उपचारको निम्ति अन्यत्रै पठाइयो । धेरै   चराचुरुङ्गी उसको स्वास्थ्यको कामना गर्न आए तर न्याहुल आएन । अब झन अति असहनीय भयो सुगालार्ई । ऊ अन्तमा मन्त्री पदबाट राजीनामा दिएर देश विदेशको भ्रमणमा निस्कियो । त्यसपछि सुगा धेरै देश घुमेर निकै अनुभव बटुल्दै लोकप्रियता हासिल गर्दै गयो । एक दिन सारा पशु पंक्षीले सुगालाई आफ्नो राजा ठाने । तर सुगा यो सब स्वीकार्न असमर्थ थियो कारण ऊ अति महत्वकांक्षी र न्यायप्रीय थियो । यसैले उसलाई राजा हुन उचित लागेन कारण उसलाई मन नपराउने उसकै प्रीय साथी थियो ।
    उसमा मित्रलाई भेट्ने प्रगाढ चाहना बढ्यो । ऊ आफ्नो पुरानो ठाउँ फर्कने भयो । उसको त्यहाँ धुमधामसित स्वागत भयो । सारा पशुपंक्षीलाई निम्त्याइएको थियो । उसको स्वागतको निम्ति । तर त्यहा“ अफसोस न्याहुल आउन सकेको थिएन । सुगालाई यो सारा स्वागत निरर्थक लाग्यो र ऊ दुःखी भई जंगलतिर लाग्यो । आफ्नो पुरानो साथीको खोजमा ।  खोज्दा खोज्दा जंगल बीचमा उस्ले न्याहुललाई एक्लै चुपचाप बसेको पायो । ऊ अति हर्षित भयो । कारण न्याहुललाई ऊ फेरि फर्केर आउने छ र उनीहरुको मित्रता यथावत कायम रहने छ भन्ने थियो । तर न्याहुल भने अर्कै भइसकेको थियो । लाख मनाउँदा पनि ऊ फर्कन चाहेन । उसलाई भीडमा आउन हिम्मत र साहस थिएन । ऊ सोच्दथ्यो कि त्यहाँ उसको अपमान हुनेछ भनेर । आफ्नो अपमान कसलाई मन पर्दछ र ऊ त्यहा जाओस् । सुगाले धेरै विन्ति ग¥यो, सम्झायो सारा पशुपंक्षीले तिम्रो प्रतिक्षा गरिरेहछन् भन्यो तर न्याहुल आफ्नै अंहकार र घमण्डले मातिएको थियो । सुगाको याचनामा उसले व्यंग्य देख्यो । अन्त्यमा हार भएर सुगा फर्कियो । ऊ अति दुःखी हृदय लिएर त्यस स्वागत सभामा जान सकेन । उसले आफ्नो सारा ज्ञान मान, प्रतिष्ठा सारा निरर्थक देख्यो । उसले आफ्नै परम मित्रलाई खुसी तुल्याउन सकेको थिएन र आफुले हासिल गरेको सारा ज्ञान उसलाई व्यर्थ लाग्यो । उसले अझै आफूप्रति कमी र असन्तुष्टि पायो । यसरी अन्तमा सुगाले मित्र विछोडको विरहमा आत्महत्या ग¥यो ।
    यो खबर सारा जंगलमा फैलियो न्याहुलले पनि सुन्यो र अब भने उसको सारा घमण्ड समाप्त भयो । बल्ल उसको आ“खा खुल्यो । तर अफसोच अब धेरै ढिलो भइसकेको थियो । उसले स्वयंलाई सुगाको हत्यारा ठान्यो र उसमा भएको कला त्यो सुमधुर गीत सदा–सदाको निम्ति हरायो । फलस्वरुप आज पनि न्याहुल वन जंगलमा एक्लै रुँदै दुःखी भएर मित्र वियोगमा तड्पिएर एक्लै  बन जंगलहरूमा रोई हिडेको देखिन्छ ।

खेलौँ अब होली (बालकविता) - रमेशचन्द्र घिमिरे


आज रङ्गीन भए पनि नुहाउनुपर्ला भोलि
सबै मिली रमाउँदै खेलौँ अब होली

रीता, गीता होली खेल्छन् यो रमाइलो दिन
सीता पनि आऊ यतै एक्लै बस्छ्यौ किन
केटाकेटी सबै हिँडे भई टोली-टोली
हामी पनि रमाउँदै खेलौँ अब होली

लाइदिऊँ अबिर छिटो-छिटो भाग्लिन् बूढी आमा
रातो रङले रङ्ग्याइदिऊँ सुन्तलीको जामा
अमिलो मन पार्नुहुन्न हाँसौं दिल खोली
साथी-भाइ रमाउँदै खेलौँ अब होली

कोही भन्छन् अबिर अनि कोही भन्छन् फागु
हातमा फागु देख्नासाथै हुन्छ भागूँ-भागूँ
काकी पनि आउनुस् नत्र रङ्ग्याई छाड्छौं चोली
हामी सबै रमाउँदै खेलौँ अब होली ।

मिडिया शिक्षाको सवालमा केही कुरा (विचार) कार्तिकेय घिमिरे

मिडिया अर्थात् आम संचार माध्यमहरु (रेडियो, टेलिभिजन, अनलाइन र पत्रपत्रिकाहरु) बाट प्रसारित र प्रकाशित विज्ञापनले सबै भन्दा बढी कसलाई प्रभावित गर्छ ?
यो प्रश्न तपाईंलाई कसैले सोध्यो भने तपाईं के जवाफ दिनुहुन्छ ?
तर मनोविदहरु भन्छन् – बालबालिकालाई बढी असर गर्छ । उनीहरु सिकाइको प्रारम्भिक चरणबाट गुज्रिरहेको हुनाले विज्ञापनका हरेक कुरा उनीहरुलाई नयाँ लाग्छन् र त्यसको आकर्षक हाउभाउ र प्रस्तुतिबाट उनीहरु तुरुन्तै प्रभिावित भइ हाल्छन् । यस सम्वन्धमा मिडियाको अनुसन्धानमा लागेकाहरु भन्छन् – बालबलिकाले विज्ञापन हेर्ने र त्यसको नक्कल गरेर दुर्घटना निम्त्याउने र आफै दुर्घटनामा पर्ने रोगले अहिल विश्व नै ग्रस्त छ । अमेरिकामा त द्घन्द सिनेमाको भूतले यतिसम्म बाल मष्तिष्कलाई अठ्याउने गरेको छ कि हरेक वर्ष जसो बालयुवाहरुले हिरोको भूमिकाको नक्कल गर्दै अन्धाधुन्ध गोली चलाएर आफ्ना सामान्य मनमुटाव भएका साथीहरु र गुरुहरुलाई मार्ने गरेका छन् । यो क्रम लगातार चार वर्षदेखि चलिरहेको छ । वर्षमा कम्तिमा एउटा यस्तो घटना त्यहाँ घटेको खबर मिडियामा आइरहेका छन् । अझ कतिपय अलि साना घटना त सम्वन्धित कलेज र महाविद्यालयहरुले आफ्नो संस्थाको व्यापार खतम हुने डरले बाहिर आउन नदिएर भित्रभित्रै लुकाउने गरेका पनि छन् ।
हो, यस घटनाचित्रले स्पष्ट के संकेत गर्दछ भने बालबालिकाहरु मिडियाबाट सबै भन्दा बढी प्रभावित हुने वर्गमा पर्छन् ।
मूलतः ६ देखि १५ वर्षमुनिका बालबालिकानहरुलाई पढाइरहेका प्रशिक्षित गुरुआमाहरु भन्छन् – बाल सिकाइमा टेलिभिजनको महत्व ठूलो छ । अहिले सूचना प्रविधिको युगमा मिडियाको व्यवस्थित उपयोग बालबालिकाको हितमा छ । किनकि उनीहरुलाई मिडियाबाट टाढा राखेर समाजमा प्रतिस्पर्धामा उत्रन नसक्ने लङ्गडो बनाउनु पनि हुन्न ।
वास्तवमा मनोविद, गुरु, गुरुआमा र मिडिया विशेषज्ञहरु सिधै मिडियालाई बाल अहितकारी भन्ने पक्षमा देखिदैनन् । तर उनीहरु मिडियामा हेरेका कुराहरु माथि बालबालिकाहरुलाई सही गलत के हो भनेर विश्लेषण गर्न प्रेरित गर्नुपर्छ भन्ने विचार राख्छन् । साथै उनीहरु के कुरामा पनि जोड दिन्छन् भने कुनै पनि बालबालिकालाई उनीहरुको उमेर अनुकुलका टेलिभिजन कार्यक्रमहरु र अन्य मिडियाका सामग्रीहरु हेर्न, पढ्न र लगअन गर्न प्रेरित गर्नु राम्रो हो । यसका लागि शिक्षक र अभिभावकहरुले राम्रो भूमिका खेल्न सक्छन् ।
बालबालिकाहरुलाई सानै देखि ठूला–ठूला एक्सनका सिनेमाहरु हेर्न प्रेरित गर्ने र उनीहरु दङ्ग परे भन्दैमा बढीमा बढी टेलिभिजनमा झुम्मिन दिने प्रवृति गलत हो । यसले शारिरीक र मानसिक दुबै रुपमा बालबालिकाहरु पीडित हुन्छन् । एकातिर शारिरीक विकासमा बाधा हुन्छ भने अर्कोतिर उनीहरु अपराध मनोवृतितिर मोडिन सक्छन् ।
त्यसैले मिडिया र बालबालिका वारे आचारसंहिता र नीति नियम बनाउने विज्ञहरु भन्छन् – मिडियाको कु्न कार्यक्रम, स्तम्भ वा कुन वेब पत्रिका वा सिनेमाहरु आफ्ना बालबालिकाहरुको लागि सिर्जनात्मक र उपयोगी छ भन्ने कुरामा अभिभावक सचेत हुनुपर्छ । त्यस्तै सामग्री उत्पादन गर्ने मिडिया हाउसले पनि उत्पादित सामग्रीको लक्षित समूह वारे जानकारी गराउँनुपर्छ । हरेक टिभी सो होस् वा सिनेमाको सिडीमा स्पष्ट साथ यी कुरा उल्लेख गरिनुपर्छ । साथै अभिभावकहरुलाई नै लक्षित गरी केही सन्देश उल्लेख गनुपर्छ भन्ने ती विज्ञहरुको ठहर रहेको पाइन्छ । साथै बालबालिकाहरुलाई पनि मिडियाको प्रवृति, व्यापार गर्ने काइदा र विज्ञापनको विश्वसनीयताका पक्षहरुवारेको छलफल र अन्तरक्रियामा सहभागी गराई मिडिया शिक्षा दिनु जरुरी छ भन्ने ठान्छन् उनीहरु ।
वास्तवमा मिडिया शिक्षा कसरी दिने ? के मिडिया शिक्षा भनेको मिडियाप्रति बालबालिका वा किशोरहरुलाई नकारात्मक हुन प्रेरित गर्ने शिक्षा हो त ? भन्ने जस्ता प्रश्नहरु अहिले उठिरहेका छन् ।
यस सम्वन्धमा हाम्रो देशमा एउटा ठोस धारणा बन्नसकेको अवस्था अहिले देखिन्न । यहाँ एकथरी मान्छेहरु अनावश्यक रुपमा लोभ्याउने, अश्लिल र हिंसाजन्य कुराहरु हेर्न र पढ्नबाट बालबालिकाहरुलाई रोक्नुपर्छ भन्ने मत राख्छन् । अर्काथरी मान्छेहरु समयसिमा निर्धारण गरेर बालबालिकाहरु सुतिसकेपछि अर्थात् लेट आवर रातिको समयमा मात्र त्यस्ता सामग्रीको प्रसारण हुनुपर्छ भन्ने मत राख्छन् । तात्कालीन माओवादी लडाईंको कालमा रगतको आहालमा डुबेका लासहरु टेलिभिजनहरुले प्रसारण गर्दा यो मुद्दा चर्केर उठेको थियो ।
तर यी दुवै मतलाई अस्वीकार गर्दै मिडिया शिक्षाको कुरा गर्नेहरुको भने फरक मत रहेको पाइन्छ । उनीहरु भन्छन् – समाजमा घट्ने हरेक घट्नाहरुवारे सूचना प्राप्त गर्न पाउनु बालबालिकाहरुको पनि सूचनाको हक हो । उनीहरुले सूचना पाउनुपर्छ यो उनीहरुको अधिकार हो । तर उनीहरुसँग बसेर छलफल, अन्तरक्रिया र विचार आदान–प्रदान गरी हामी बयस्कहरुले उनीहरुलाई मिडियामा प्रसारित, प्रकाशित सामग्री र विज्ञापनहरु प्रति आलोचनात्मक दृष्टिकोण बनाउन सघाउनुपर्छ । उनीहरुलाई मिडियाको विषयवस्तुका वारेमा सचेत र सजक गराउँनु पर्छ । अर्थात् हर्लिक्स खाएर जाँचमा फस्ट हुन सकिने हो कि होइन ? कम्प्लान खाएर हाइट बढ्ने हो कि होइन ? चाउचाउले दिमाख कति तेजिलो बनाउने हो ? यस्तै आदि–इत्यादि खालका टेलिभिजनलगायतका मिडियामा आउने विज्ञापनहरुवारे अभिभावकहरु र गुरुहरुले आफ्ना बालबालिकाहरुसँग खुलेर छलफल र अन्तरक्रिया गर्नुपर्छ भन्छन् विद्घानहरु । साथै मिडियाले किन विज्ञापन प्रसारण गर्छ ? विज्ञापन बनाउँनु प्रचार गर्नुको उद्देश्य के हुन्छ ? भन्नेजस्ता तमाम सवालमा पनि अन्तरक्रिया हुनुपर्छ ।
हो, वास्तवमा मिडिया शिक्षा भनेको यसबाट निस्कने निचोडहरु नै हुन् । जसले एकातिर मिडियाको सूचनाको विश्वसनियतातर्फ बालबालिकाहरुलाई आकर्षित गरेर उनीहरुलाई सूचना ग्रहण गर्न प्रेरित गर्दछ भने अर्को तर्फ मिडियाले पैसाको खेतीका लागि चमचमाएर प्रकाशन र प्रसारण गरेका विज्ञापनको वारेमा पनि स्पष्ट धारणा बनाउन पनि सहयोग मिल्दछ ।
तर यहाँनिर बालअधिकारवादीहरुको स्पष्ट अवधारणा र एकमत के रहेको पाइन्छ भने बालबालिकाहरुलाई यसो गर, त्यसो नगर भनेर गुरुकुल शैलीमा बन्देज लगाउने होइन । उनीहरुलाई छलफल, अन्तरक्रिया र ठोस तथ्यहरुका आधारमा तर्क प्रस्तुत गरी उनीहरुको जिज्ञासालाईसमेत समाधान हुने गरी समाधान गरिदिएर मिडिया शिक्षालाई प्रभावकारी बनाउन सकिन्छ । यसो गर्न सकियो भने एकातिर यसले बाल व्यक्तित्वमा निखार ल्याउन मद्घत गर्दछ भने अर्कोतिर मिडियाको विज्ञापनलगायतका कुराहरुको नकारात्मक असरहरु न्यूनिकरण गर्न सघाउ पनि मिल्दछ ।
हो, आज हामी बाँचिरहेको युग मिडियाको युग हो । यस संसारका सबै मानिसहरु अहिले मिडियाको अत्याधुनिक विकासको मज्जा लिदै यगको उपयोगमा लठ्ठ परेर रमाइरहेका छन् । तर यही मिडिया यसको सही र समुचित उपयोग गर्न नजान्दा कत्तिका लागि अभिशाप पनि भएको छ । यसमा सबै भन्दा बढी बालबालिका र किशोरकिशोरीहरु पर्दछन् । त्यसैले यो मिडियाको युगमा मिडिया प्रति बालबालिकाहरुलाई आलोचनात्मक हुन हामीले प्रेरित गर्नुपर्छ । उनीहरुलाई मिडियाका साधनमा प्रसारित र प्रकाशित सामग्रीहरु जस्तैः विज्ञापन, सिनेमा, सनसनीपूर्ण समाचारहरु आदि प्रति चनाखो हुन र त्यसलाई आलोचनात्मक ढङ्गले हेर्न प्रेरित गरिनुपर्छ ।
हो, एउटा सिनेमा वा विज्ञापनमा मानिस उडेको देखाइनछ भने वास्तविक जीवनमा यत्तिकै मानिस उड्न सक्दैन यसले हावा देखायो वा रमाइलोका लागि देखायो भन्नेखालका आलोचनात्मक वा विश्लेषणात्मक खालका धारणाहरु बनाउँन आफ्ना बालबालिकाहरुलाई प्रेरित गर्नुपर्छ । यसो गर्न सकियो भने मात्र बालबलिकामा पर्ने विज्ञापनको असर र समग्र मिडियाकै बालबालिकाहरुको सृजनात्मक विकासका लागि बाधक हुनेखालका असरहरुलाई न्यूनिकरण गर्दै लैजान र सकारात्मक असरहरुलाई बढाउँदै लैजान सहयोग मिल्दछ । त्यसैले अब बालबालिकासँग सरोकार राख्नेहरु सबै मिडिया शिक्षालाई व्यापक बनाउँन लाग्नुपर्छ भन्ने कुरामा शायदै कसैको दुई मत होला ।

Children's Story by Binaya Kasaju, दिदीको चकलेट (बालकथा) विनय कसजू

गाउँबाट मामा आउनु भएको थियो । सानी भांजी रोजी दंग परेकी थिई । मामा जहिले आउँदा पनि रोजीलाई गाउँबाट कुराउनी, मह, केरा, काफल, सुन्तला आदि थरीथरीका फलफूल ल्याइदिनु हुन्थ्यो । मामाले उनलाई बजारमा घुमाउन लैजानुहुन्थ्यो र मिठाई किनीदिनु हुन्थ्यो ।
मामाले रोजीकी दिदी सुजीलाई पनि माया गर्नुहुन्थ्यो । उनी पनि मामासँग घुम्न जान रुचाउँथिन् । तर सुजी रोजीभन्दा धेरै ठूली थिई । उनी स्कुलमा पढ्न जान्थी । उनलाई मामासँग घुम्ने फुर्सत हुँदैनथ्यो ।
रोजी सानी थिई । उनी स्कुल जान्नथी । घरैमा बसेर दिदीले पढेको हेरिरहन्थी । दिदीले फुर्सतमा उनलाई पनि अक्षर सिकाउँथी । स्कुल नगए पनि पढनसक्छु भनेर उनी मख्ख थिई । उनले मामालाई एबीसीडी खररर पढेर सुनाउँथी ।
बजारमा नयाँ चकलेट आएको थियो । दूध, चिनी, कोको र फलफूलको रस मिसाएर बनाएको त्यो चकलेट एक बित्ता लामो थियो । चकलेट पहेँलो टल्कने बट्टामा हेर्दै लोभलाग्दो गरेर पसलमा सजाइएको हुन्थ्यो । रोजीलाई त्यो चकलेट निक्कै मन पथ्र्यो ।
गाउँबाट मामा आउने बित्तिकै रोजीले बजारमा आएको नयाँ चकलेट सम्झी । भोलि पल्ट मामाले रोजीलाई लिएर बजार जानु भयो । केही बेर घुमेपछि एउटा पसलमा गएर मामाले रोजीलाई के खान मन छ भनेर सोध्नुभयो ।
रोजीले पसलको टाँडमा हेरी । तर त्यहाँ उनलाई मनपर्ने नयाँ चकलेट थिएन । उनले भनी, “मामा अहिले भोक लागेको छैन । एकछिनपछि खाउँला है ।
मामा पनि हुन्छ नि भनेर अगाडि बढनुभयो । तर रोजी नयाँ चकलेट कुन पसलमा पाइएला भनेर चनाखो थिई । उनी दायाँबायाँका पसलहरूमा हेर्दै हिडिरहेकी थिई ।
अलि पर पुगेपछि एउटा पसलमा सिसाको दराजभित्र पहेँको कागतमा बेरेको नयाँ चकलेट सजाएर राखेको रोजीले देखी । उनले मामाको हात समातेर डोर्याउँदै पसलमा लगी । उनले दायाँहातले औँल्याएर मामालाई चकलेट देखाई ।
मामाले चकलेटको भाऊ सोध्नु भयो अनि पैसा तिरेर एउटा चकलेट किनिदिनु भयो । चकलेट हातमा लिने बेलामा रोजीले सुजी दिदीलाई सम्झी । उनले मामासँग भनी, “मामा, सुजी दिदीको लागि पनि एउटा चकलेट किनिदिनुस् न है ।
मामाले अर्को पनि चकलेट किन्नुभयो र रोजीको हातमा राखिदिनु भयो । रोजी दंग पर्दै दुइटा हातमा दुइटा चकलेट लिएर लिएर मामासँग हिँड्न थाली । मामाले रोजीलाई पार्कमा लैजानुभयो ।
पार्कको बीचमा सानो पोखरी थियो । पोखरीको सङलो पानीमा राता, पहेँला, खैरा, सेता, रंगीचंगी माछाहरू खेलिरहेका थिए । रोजीले एक छिन माछालाई हेरेपछि चकलेट खान मन लाग्यो । उनले चकलेटको खोल खोल्न खोजिन् । तर चकलेट बलियो प्लास्टिकको खोलभित्र राखिएको थियो । उनले मामालाई चकलेट खोल्न दिइन् ।
मामाले चकलेटको हातमा लिएर एकातिरबाट प्लास्टिक च्यातेर खोलबाट चकलेट बाहिर निकालेर रोजीलाई दिनुभयो । रोजीले खुशी हुँदै चकलेट खान थालिन् ।
मिठो चकलेट मुखैमा बिलायो । चकलेट तुरियो र तर उनको धित मरेन । उनको मन दिदीको चकलेटतिर गयो । उनलाई त्यो चकलेट पनि खान मन लाग्यो । तर दिदीको लागि भनेर मामाले किनिदिनु भएको चकलेट कसरी खाने । मामाले के भन्नु होला ?
उनले हातको चकलेट खेलाउन थाली । चकलेट कसरी खोल्न सकिन्छ ? खोल च्यात्ने ठाउँ कहाँ छ ? उनले चकलेटलाई ओल्टाइपल्टाई हेर्न थाली । एउटा कुनामा कैँचीको चित्र कोरेको देखेर त्यहीँबाट खोल्ने हो कि भनेर उनले दुई हातका औँलाहरूले समातेर सुस्तरी च्यात्न खोजी । तर खुलेन ।
रोजीले चकलेटको खोल खोल्न खोजेको मामाले चाल पाउनुभयो । रोजीलाई चकलेट खान मन लाग्यो भन्ने कुरा मामाले थाहा पाउनु भयो । उहाँले भन्नु भयो, “रोजी, ल्याऊ त्यो चकलेट मैले खोलिदिन्छु ।
रोजीले यो दिदीको चकलेट हो । भै हाल्यो भन्न सकिन । उनले संकोच मान्दै मामाको हातमा चकलेट राखिदिई । मामाले चकलेटको खोल च्यातेर रोजीको हातमा राखिदिनु भयो । रोजी खुशी भई । दिदीको चकलेट पनि खाइदिएको भनेर मामाले भन्नु हुन्छ कि भनेर रोजीले एकपल्ट मामालाई र एकपल्ट चकलेटलाई हेर्दै चकलेट खान थाली । पोखरीका रंगीन माछाहरू पानीमाथि टाउको निकाल्दै उफ्रन थाले । त्यो देखेर रोजीलाई उनीहरूले दिदीको चकलेट खाएको !भनी जिस्क्याएजस्तो लाग्यो ।

Children's Story by Sauravkiran Shrestha आइसक्रिम खाने सपना - सौरभ किरण श्रेष्ठ


सानोबाबुको सहरमा कोही पनि छैन । तर ऊ झोला भिरेर सहरमा आइपुग्यो । सहरमा कहाँ बस्ने, के खाने, के गर्ने भन्ने उसलाई केही थाहा छैन । उसलाई एउटै कुरा थाहा छ ऊ उभिएको ठाउँ उसको गाउँ होइन, बरू सहर पो हो । आजसम्म उसले सहर देखेको थिएन तर सहरको बारेमा धेरै कुराहरू सुनेको थियो । उसले सुनेको सहरलाई चारैतिर हे¥यो । जताततै बसै बस देख्यो । यति विघ्न ठुलो बसपार्क मैले आजसम्म देखेको थिइनँ ।सानोबाबुले मनमनै कुरा ग¥यो । कालो सडकमा मोटर गुडेको देखेर उसलाई मज्जा लाग्यो । उसलाई ठुलाठुला घरहरू देखेर अचम्म लाग्यो । उसले राम्राराम्रा कपडाहरू, सामानहरूले सजाएको पसल देख्यो ।
बजार त झन् रमाइलो हुँदो रहेछ ।ऊ बजारको रमझम हेर्नमा मस्त भयो । त्यतिबेला उसले सबै कुरा बिस्र्यो । उसले आफ्नो गाउँ घर बिस्र्यो । प्यारी बहिनी बिर्सियो । आमाबुबा बिर्सियो । घरबाट भाग्नुको कारण बिर्सियो । भागेर एक्लै सहर आइपुग्दा लागेको डर पनि उसले बिर्सियो । अरू त अरू उसलाई भोक लागेको कुरा पनि बिर्सियो । पल्याकपुल्युक यताउता हेर्दै ऊ नचिनेको सडक बजार हिँडिरहयो ।
बजारमा केही केटाकेटीहरूले रमाएर चाटीचाटी केही खाइरहेको उसले देख्यो । त्यो पक्कै पनि आइसक्रिम हुनुपर्छ ।उसले किताबमा देखेको चित्र सम्झँदै अनुमान ग¥यो । उसलाई पनि उनीहरूझै कोनवाला आइसक्रिम खान मनलाग्यो । उसले खल्ती छाम्यो । आफ्नो खल्तीमा २५ रूपैयाभन्दा बढी उसले भेटेन । ऊ सरासर पसलमा गयो । पसल राम्रोसँग सजाइएको र सफा थियो । पसलमा बुढो साहुले उसलाई नियालेर हे¥यो । पुराना धुस्रेफुस्रे लुगा, खुट्टामा साधारण चप्पल लगाएको र काँधमा झोला बोकेको सानोबाबुलाई देखेर बुढो साहुले नाक खुम्चायो । अरू सुकिला केटाकेटीहरूले पनि उसलाई क्वार क्वारी हेरे । अनि अलि परपर सरे ।
यिनीहरूले मलाई किन यसरी हेरेका होलान् ।सानोबाबुले सोच्यो । र अप्ठ्यारो मान्दै साहु नजिक पुग्यो । साहू काका ! आइसक्रिमको कति हो ?” सानोबाबुले नम्र स्वरमा सोध्यो । आइसक्रिमको मीठो बासना उसको नाकमा घुस्यो । उसको मुखमा पानी आयो ।
जति भए पनि के गर्नु बाबु ? यो आइसक्रिम तिम्रो लागि होइन ।बुढो साहुले खोक्दै भन्यो । साहुको कुरा सुनेर सानोबाबुले जिल्ल पर्दै भन्यो, “किन र, साहू काका ? मैले आइसक्रिम खान सक्दिँन र ?”
सक्छौं । तिमीले पनि आइसक्रिम खान सक्छौं । तर तिमीसँग पैसा छ ? यो आइसक्रिमको ५० रूपैया पर्छ ।साहूले भन्यो । बुढो साहूको कुरा सुनेर ऊ हच्कियो । मलाई थाहा छ । तिमीसँग यो आइसक्रिम किन्न पैसा छैन । पैसा भएता पनि तिमीले यति महङ्गो किनेर खादैनौ । त्यसैले यो आइसक्रिम तिम्रो लागि होइन भनेको ।बुढो साहूले भन्यो । बुढो साहुले खिसि गरेको सानोबाबुलाई पटक्कै मन परेन । ऊ त्यहाँबाट लुसुक्क हिड्यो । अरू साना केटाहरू गलल हाँसे ।
सहरजस्तै राम्रो सहरमा बस्नेहरूको मन हुँदो रहेन छ । पख न । एक दिन म धेरै पैसा कमाउछु । अनि एउटा आइसक्रिम त के, म त्यो बुढा काकाको पसलै किनिदिन्छु । पख्लास् ।ऊ रिसाउँदै आफ्नो मनलाई आफैँले सम्झायो । अब भने उसलाई सहर मज्जा लागेन । उसलाई भोक र थकाइ पनि लाग्न थालेको थियो । उसले खाजा खानका लागि पसल खोज्न थाल्यो । आकर्षक र सफा पसलहरू उसका लागि होइनन् भन्ने उसले बुझिसकेको थियो । त्यसैले ऊ एउटा सानो चिया पसलमा छि¥यो । उसले कही खानुभन्दा अगाडि खानेकुराहरूको मुल्य सोध्यो । आफूसँग भएको पैसाले पुग्छ भन्ने भएपछि मात्र उसले चिया र पाउरोटी मगायो । चिया पाउरोटी खाएपछि उसलाई आफ्नो पेट सञ्चो भएझैँ भयो ।
उसले त्यहाँ आफूजस्तै उमेरका केटाहरू काम गरिरहेको देख्यो । कोही प्लेट, गिलास र भाँडाहरू माझिरहेका थिए भने कोही ग्राहकहरूका लागि खानेकुरा पु¥याउनमा व्यस्त थिए । सहरका होटल र घरहरूमा जत्ति भने पनि काम पाइन्छ । यहाँ दुःख सहेर के बस्छस् ? हिड् मसँग, म तिमीलाई सहरमा काम मिलाइ दिन्छु ।एक दिन गाउँका एकजना काकाले भन्नुभएको उसले सम्झ्यो । त्यसपछि घरबाट भागेर कामको खोजीमा आफू सहर पसेको कुरा पनि उसले सम्झ्यो । खाजा खाएपछि कहाँ जाने के गर्ने भन्ने उसले सोच्न सकेन । उसको लागि सहर नयाँ थियो । साझँ हुँदै थियो । रात परि हाल्छ भन्ने पीर उसलाई लाग्न थाल्यो ।

उसले भाडाँ माझिरहेको एकजना केटातिर हे¥यो । ऊ पनि कामको खोजीमा सहरबाहिरबाट आएको हुनसक्छ । अरू केटाहरूलाई झैंँ मलाई पनि यही होटेलमा काम मिल्छ कि ?” उसले सोच्यो । उसले फेरि त्यही केटालाई हे¥यो । ऊ सकिनसकी भाडाँ माझिरहेकोे थियो । उसको लुगा चिसो भएर भिजेको थियो । पानीले भाडाँ माझ्दा माझ्दा उसको हात सेतो भएर सुन्निसकेको थियो । उसले धेरै पटक आफ्नो हात सुमसुम्याइ रहेको सानुबाबुले देख्यो । छिटो, काम गर । नत्र निकालिदिन्छु ।मालिकले उसलाई गालि गरिरहेको पनि उसले देख्यो । सानोबाबुको मन खिन्न भयो ।
होस् । म यहाँ काम गर्दिनँ । यस्तो ठाउँमा पनि के काम गर्नु ।सानोबाबुले विचार ग¥यो । अनि खाजाको पैसा तिरेर बाहिर सडकमा निस्कियो । साँझको समयमा मानिसको भिड झन् बढ्यो । सहरका झिलिमिली बत्ति बल्न सुरू भयो । तर सानोबाबुलाई सहर रमाइलो लागेन । बरू रात पेरेकोमा उसलाई डर लाग्न थाल्यो । अब कता जाने, कहाँ बास बस्ने भन्ने उसलाई पीर प¥यो ।

ऊ घुम्दै फिर्दै त्यही खाजा खाएको होटलमा आइपुग्यो । ऊ पहिले बसेकै मेचमा गएर बस्यो । उसलाई निक्कै भोक लागिसकेको थियो । उसलाई आफ्नो घरको याद आयो । घर फर्कुँफर्कुँझैं उसलाई लाग्यो । उसले घरमा सिकिस्त बिरामी परेकी आमालाई सम्झ्यो । सधैँ बेलुका बेलुका भोकभोकै सुत्नु परेको रातहरू संझ्यो । भोक लाग्यो दाइ । भोक लाग्यो दाइ भन्दै निदाइरहेकी बहिनीलाई सम्झ्यो । घरबाट अचानक एकदिन बेपत्ता भएको दाइलाई सम्झ्यो । घरको सबै कुरा सम्झेर उसको मन सिरिङ्ग भयो ।
धेरै पैसा कमाउछु भनेर घरबाट भागेपछि त्यसै कसरी फर्कने ?” उसले सोच्यो । सोच्दासोच्दै उसको पेट भोकले दुख्न थालेको थियो । आफूसँग भएको पैसाले एक गिलास चिया पनि आउदैन भन्ने उसले अनुमान ग¥यो । त्यसैले एकछिन पनि नगुमाइ उसले साहुसँग कुरा गर्ने विचार ग¥यो ।
साहुजी साह्रै भोक लागेको छ । केही काम पाइन्छ ?” सानोबाबुले हिम्मत गरेर भन्यो । अचानक सानोबाबुको यस्तो कुरा सुनेर साहु एक छिन अलमलमा प¥यो । साहुले केही नबुझेझैँ गरेर सानोबाबुलाई जिल्ल परेर हे¥यो । साह्रै भोक लागेको छ साहुजी, केही काम पाइन्छ भनेको ?” सानोबाबुले फेरि हिम्मत गरेर भन्यो । सानोबाबुको कुरा बुझेर साहजी एक छिन हाँस्यो । किनभने, “भोक लागेको छ, काम पाइन्छ ?” भनेको आजसम्म उसले सुनेको थिएन । बरू भोक लागेको छ, मःमः पाइन्छ ? समोसा पाइन्छ ? चाउचाऊ पाइन्छ ?” जस्ता फर्माइसहरू सुन्ने बानी मात्र उसलाई परेको थियो । तर, जे होस् साहुले सानोबाबुको कुरा बुझ्यो ।
आजै गाउँबाट आएको जस्तो छ नि ? होटलमा कामसाम गर्ने बानी छजस्तो त छैन ?” साहुले सानोबाबुलाई राम्ररी नियालेर भन्यो । साहूले अन्दाज गर्दै भनेको कुरा सुनेर सानोबाबु जिल्ल प¥यो । उसले केही बोल्नै सकेन । घरबाट भागेर आएको ? गाउँमा दुःख छ ? राम्ररी खान पाएनौं ? कि सौतेनी आमाले दुःख दिई । आमाबुबा दुवैजना छैनन् ? — मरिसके ?” साहुको धरै प्रश्नहरू सुनेर सानोबाबु अक्कनबक्क भयो । उसको आँखाबाट तुरूक्क आँसु झ¥यो । ऊ सुकसुकाउन थाल्यो ।
हेर्दा खेरी, तिमी असल केटोजस्तै देखिन्छौं । यति सानै उमेरमा घरबाट भाग्न कसले सिकायो ? तिमी घर फर्क ।साहुले ठूलो सोरमा तर मयालु पारामा भन्यो ।
मलाई काम दिनुहोस् । मलाई भोक लागिरहेकोछ ।सानोबाबुले रूदै भन्यो । साहुले सानोबाबुलाई खानका लागि पाउरोटी दियो । उसले आसु पुछ्दै पाउरोटी चपायो । सानोबाबुले आफ्नो सबै कुरा साहुलाई बतायो । 
बुबाआमालाई सुख दिन्छु भनेर घरबाट भाग्नु ठिक होइन । तिमीले त बुबाआमालाई झन् दुःख पो दियौ । तिमी घरबाट भाग्दा बुबाआमाले कति पिर गरिरहनु भएको होला ? एक चोटी सोच त । साना केटाकेटीहरूले सहरमा राम्रो काम पाउदैनन् । होटल र घरमा काम गरेर, भाडाँ माझेर धेरै पैसा कमाउन सकिन्न । दुई तीन वर्षदेखि यहाँ केटाहरूले काम गरिरहेका छन् । सानै उमेरमा काम गरेर धेरै पैसा कमाउने भए उनीहरू धनी भइहाल्थे नि । किन उनीहरूलाई अझै पनि यही काम गरेर बस्नु पर्छ र ?” साहुले माया गर्दै उसलाई सम्झयो ।
तिमी घर फर्क । बरू आमाबुबाको काममा सहयोग गर । यो भन्दा राम्रो काम के होला र ? अनि सकेसम्म राम्ररी पढ । विद्यालय जाने गर । पढेको मान्छेले नै पछि राम्रो काम पाउछन् । अनि असल काम गरेर पैसा कमाउन सक्छन् ।साहुले भन्यो । साहुको कुरा सुनेर सानोबाबु एकछिन् टोल्हायो । ठिक छ । तिमी नै विचार गर काम गर्ने कि ? घर फर्कने ।साहुले भन्यो । र रात परेको हुँदा होटल बन्द गर्न तिर लाग्यो । 

साहुको कुरा ठीक हो । मलाई पनि उहाँले पहिला यस्तरी नै सम्झाएका थिए । तर म घर फर्किनँ । त्यसैले आजसम्म म यहि छु । भविष्य पनि खराव हुन्छ । अनि सधैँ यस्तै भाडा माझ्दै बस्नुपर्ने हुन्छ । तिमी घर जाऊ अनि दुःख गरेर भए पनि धेरै पढ ।अघिको केटाले आफ्नो हात तिर हेर्दै भन्यो । त्यो केटा उसलाई आफ्नो दाइजस्तै लाग्यो ।
उसले जरूक्क उठ्दै भन्यो तर साहुजी ! मसँग घर फर्कनका लागि पैसा छैन ।
सानोबाबुको कुरा सुनेर साहु मुसुक्क हाँस्यो । केही छैन । तिमी सहरमा काम गर्न आएको होइन र ? आज यहाँ काम गर । म तिमीलाई भोलि बिहानै घर फर्कन पुग्ने पैसा दिन्छु ।साहुको कुरा सुनेर सानोबाबु दङ्ग प¥यो ।
त्यस रात उसले मन लगाएर होटलमा भाडाँ माझ्यो । भाडाँ माझ्न कति गाह्रो हुँदो रहेछ भन्ने उसले थाहा पायो । अनि राती मस्तसँग निदाउँनु भन्दा अगाडि उसले मनमनै सोच्यो भाडाँ माझेर अहिले धनी हुने कुरा त के एउटा आइसक्रिम पनि किन्न सकिन्न । बरु म मन लगाएर पढ्छु । धरै पढेर राम्रो काम गर्छु । अनि त्यो आइसक्रिम पसलै किनिदिन्छु ।ऊ मुसुक्क हाँसो । उसले धेरै आइसक्रिम खाइरहेको सपना देख्यो ।

Children's Story by Bidya Sapkota, आमासँग त्यो साँझ – विद्या सापकोटा ‘निर्जला’


साँझ पर्न आँटेको थियो । लौ अव हामी जान्छौं भन्दै एक हुल केटाकेटी एकसाथ निस्किए । दिन घुम्म परेको बेला पारेर उनीहरु जहिले यसरी नै रमाउदै घरबाट निस्कन्थे । तर कहाँ, केका लागि जान्थे कसैलाई पत्तो हँुदैनथ्यो । केही घन्टापछि उनीहरु रमाउदै फेरि घर फर्कन्थे ।
रामु अलि सानै थियो । ऊ पनि अरुहरुसँगै पछि लागेर हुलमा मिसिन्थ्यो । तिमीहरु कहाँ गएका भनेर आमाले सोध्नुभयो भनेआमा, हामी त रमाइलो गर्न गएका हौं । हजुरलाइ सबै कुरा भन्यो भने अर्को पटकबाट दाइदिदीले लानुहुन्न रे म त भन्दिन भन्दै ऊ खेल्न दौडन्थ्यो । 

आमालाइ शंका लाग्यो । त्यसैले एकदिन उहाँले केटाकेटीहरु कहाँ जादा रहेछन् जाँच गर्ने विचार गर्नुभयो र उनीहरुले थाहा नपाउने गरी पिछा गर्नुभयो ।

घर भन्दा केही तल खेत थियो । जहाँ बस्तुभाउहरु बाध्न गोठ र कटेराहरु बनाइएका थिए ।
ठूलो गरामा पुगेर सबै अडिए अनि एक अर्काको मुखमा हेर्दै मुस्कुराए ।

ल ल साना नानीहरु आगो फुक्न सुरु गर ।
हरिश र म छानामाथि चढ्छौंकृष्णले आदेश दिदै भन्यो ।

रमाइलो बालशुलभता आमालाइ पनि रमाइलो लाग्यो । एक कुनामा बसेर हाँस्दै हेर्न थाल्नुभयो । गोठमा गौंथली, भँगेरा र सारौ आदिले गुँड लगाएका थिए । रुखहरुमा बसेर ढुकुरका जोडीहरु उङ्गिरहेका थिए । पुतली र फिरफिरेको चुनुमुनु आकर्षक लाग्थ्यो तर आकाश भने धुम्म देखिन्थ्यो ।
यशोदा र कविताले एक पोल्टो गिठ्ठा र भ्याकुर ल्याइपु¥याए । रामु र सुशांकले आगो बाले । हरिश र कृष्ण पालैसँग चराका गुँडहरु चाहार्न पो थाले । आमा झन् अचम्ममा पर्नुभयो ।
     साना नानीहरुले आगो बालेको र गिठ्ठा पोलेको देखेर आमालाई डर पनि लागिरहेको थियो कतै गोठ मै आगो लाग्ने पो हो कि भनेर ।
   आहोइ.....भेटियो भेटियो.........हरिश र कृष्णले सारौका बच्चाहरु समाते, सबैजना खुसीले उफ्रिए । ती भर्खर पखेटा उम्रिएका कलिला बच्चाहरु समातेर के गर्न लागेका हुन् आमाले बुझ्नुभएन, एकटकले हेरिरहनुभयो । सबै गुँड चाहार्दै धमाधम चराका बच्चाहरु  जम्मा गरिए । माउ चराहरु घुम्दै कराउदै थिए तर माउहरुको चिच्याइमा पनि हाँस्दै नाच्दै ती केटाकेटीहरुले बचेरा पोले अनि बाँडेर खाए ।
आमाले केही भन्नै भ्याउनुभएन । नरमाइलो मान्दै घर फर्कनुभयो ।

केहीबेर मै केटाकेटीहरु पनि घर फर्किए । तर आमा आँगनमा हुनुहुन्थेन । धेरैबेरसम्म आमालाई नभेट्दा उनीहरु निन्याउरिए । उनीहरुले कराउँदै आमालाई बोलाए । तर आमा बोल्नुभएन ।
रामु रुन थाल्यो । आमा ढोकाबाट हाँस्दै निस्कनुभयो । आफूहरुले कयौंबेर देखि वरपर सबैतिर खोज्दा र बोलाउँदा पनि नबोल्नुभएको आमा ढोकाबाट निस्केको देखेर सबै छक्क परे ।
रामु आत्तिदै आमालाई अंगालो मार्न पुग्यो । आमाले केही थाहा नपाएझैं शान्त भएर  सोध्नुभयोतिमीहरु कतिखेर आएका हौ ? कहाँ गएका थियौं नि ?
अघि नै आएको नि । कही हैन काकी, खेल्न गएका नि सवैजना मिलेरकविता हडबडाउदै बोली ।
ए अनि म एकछिन नहुँदा किन आत्तिएका त ?’
रामु अझै रुदै थियो । आमाले टाउको सुमसुम्याउदै सोध्नुभयो ।
ए भन त तिमीहरुलाइ सबैभन्दा बढी माया कस्को लाग्छ ?’ आमाले सोध्नुभयो ।
ऋामा बाबाकोसवैलै एकसाथ भने ।
हो तिमीहरुलाई जस्तै हरेक आमाबाबुलाई पनि त आफ्ना बच्चाको सबैभन्दा बढी माया लाग्छ नि ! ू
त्यसो भए आमा किन लुक्नुभएको तँ ?– रामु घुक्कघुक्क गर्दै बोल्यो ।
आमाले नसुने झैं फेरि सोध्नुभयो । आफ्ना नानीहरुलाइ खुवाउनु प¥यो, नाना किनिदिनुप¥यो, स्कुल पठाउनु प¥यो यसैले गर्दा सधैभरी आमा बाबा आफ्ना बच्चाहरुसँगै
बस्न भ्याउनुहुन्न, काममा पनि त जानुपर्छ नि हैन ?’
त्यो त हो निसबैले एकसाथ भने ।
आमाबाबा नभएको बेला पारेर कसैले तिमिहरुलाइ दुख दिनसक्छन् ..आमाले भन्नु भयो ।
आमालाइ रोकेरत्यस्तो त दुष्टले मात्र गछनर्् नि हैं आमारामुले भन्यो ।
हो त घरका ठूला मान्छे नभएको बेला सानालाई दुख दिने दुष्ट नै हुन् । हामीले त्यस्तासँग सजग हुनुपर्छ ।
सबैले हो मा हो मिलाउदै थिए ।
अरुलाइ दुःख दिनेहरुले गर्दा उनीहरु र ठूलाहरुलाई कत्ति चोट पर्ला है ?
अब नलुक्नु ल आमा, मलाइ अघि तपाईं नभएको बेला कसैले लगेको भए ?– न्याउरो अनुहार लगाउदै रामुले भन्यो ।

आमाले मायाले सम्झाउनु भयोतिमीहरुले मसँग झुट बोलेका छौं, त्यो आफैमा नराम्रो कुरा हो । अझ अर्को कुरा तिमीहरुले पनि त दुष्ट काम ग¥यौं ।
कसरी नि ? आश्चर्य मान्दै उनीहरुले सोधे ।
तिमीहरु कहाँ गएका र के गरेर आएका मलाई सबै थाहा छ । तिमीहरुले ती विचरा बचेराहरुलाइ मारिदियौं, एकछिन रमाइलो भयो होला तर थाहा छ उनीहरुका आफन्त, चारो लिन गएका माउहरु अहिले कत्ति दुखी भए होलान् ? म एकछिन नहुदाँ त तिमीहरु यति आत्तियौ । तिमीहरुले त उनीहरुको मायाको बस्ती नै उजाडिदियौं । आमाले उनीहरुको अनुहारमा हेर्दै भन्नुभयो ।

सबै केटाकेटी आमाको कुरा सुनेर दुःखी भए । उनीहरु पछुताए ।  उनीहरुले आँखाभरि आशु पार्दै आमासँग माफी मागे । अब कहिल्यै त्यस्तो नगर्ने बाचा गर्दै आमाको काखमा लुटपुटिए ।

Children's Story by Ananta Prasad Wagle, मङ्गलमानको सारङ्गी - अनन्त वाग्ले


खानेकुरो छैन आमा, कस्तो भोक लाग्यो’— विवेकले भन्यो । ऊ क्रिकेट खेलेर थकित भई फर्केको थियो । साझको समय, आमा भान्सामा हुनुहुन्थ्यो । खाजा खाएको हैन र †’ चामल केलाउदाकेलाउदै आमाले जवाफ दिनुभयो ।
भान्सामा तयारी खानेकुरा केही थिएन । विवेकले थालमा एक चिरो काक्रो देख्यो । ऊ काक्रो लिएर टोक्न थाल्यो । बाहिर निस्कन खोज्दै थियो, उसका आखा टेबुल माथिको एउटा खाममा परे । त्यो खामभित्र काकाले पठाउनुभएको चिठी रहेछ । काकाले स्कुलमा छुट्टी भएपछि विवेकलाई पनि लिएर आउनु भनी आमालाई चिठी लेख्नुभएको रहेछ । काका पश्चिमको एउटा गाउमा बस्नुहुन्छ । विवेक मनमनै खुशी भयो ।
केही दिन पछिको कुरा हो, विवेकको स्कुलमा परीक्षा सकियो । एक महिनाका लागि छुट्टी पनि भयो । आमाले विवेकलाई काकाको घरमा लिएर जानुभयो । विवेकका आमा छोरालाई देखेर काकाकाकी र हजुरआमा निकै खुशी हुनुभयो । वैभव र वनिता झन् खुशी भए । उनीहरु काकाका छोराछोरी हुन् ।
काकाको गाउबाट पोखरा नजिकै पथ्र्यो । विवेकलाई पोखरा घुम्ने रहर थियो । आमाले एकदुई दिनपछि मात्र पोखरा जाउला भन्नुभयो । दिनभर काकाको घरमा के गरी बस्ने होला ?’ विवेक सोच्न थाल्यो ।
वैभव र वनिता स्कुल गएका थिए । विवेक घरबाट निस्कियो र नजिकैको चौतारीमा पुग्यो । त्यहाउसकै उमेरको एउटा केटो सारङ्गी रेटेर बसिरहेको थियो । उसका लुगा केही मैला थिए । सारङ्गीको रन्कोसग निस्केको उसको आवाज भने निकै मीठो थियो
दैव हरे के गर्नु, के गर्नु मैले,
कहिलेसम्म ठग्ने हो करिमैले ...
विवेक उसको नजिकै गयो र भन्यो— ‘कस्तो मीठो स्वर, तिम्रो नाम के हो भाइ ?’
— ‘मङ्गलमान गन्धर्व
यो बाजाको नाम के हो नि ?’
–‘सारङ्गी
ए सारङ्गी भनेको यही हो ? मैले नाम मात्र सुनेकी थिए“, कसले बनाएको नि ?’
–‘मेरो बाले
मलाई पनि सारङ्गी बजाउन सिकाइदेउन न । बरु म तिमीलाई कम्प्युटर सिकाइदिउला †’
–‘भैहाल्छ नि, किन नहुनु चाच्चै, कम्प्युटर पनि सारङ्गी जस्तै बाजा हैन त ?’
हैनहैन, कम्प्युटर भनेको बाजा होइन, यो त विज्ञानको एउटा आधुनिक साधन हो । यसबाट हामीले धेरै काम लिन सक्छौं ।
अनि यो कस्तो आकारको हुन्छ ?’
यो झण्डैझण्डै टेलिभिजन आकारको हुन्छ । मोनिटर’, ‘किबोर्ड’, ‘माउस’, ‘प्रिन्टरआदि यसका विभिन्न भाग हुन्छन् । तिमीलाई देखाएरै म सबै कुरा बताउला नि ।अहिले मलाई सारङ्गीको बारेमा बताइदेऊ न ।
यो धेरै पुरानो नेपाली बाजा हो । हामी गन्धर्वले पुस्तौंपुस्ता अघिदेखि यसलाई बजाउदै आएका छौं ।
अनि कहिलेकहिले बजाइन्छ नि ?’
बजाउने त चाडपर्व र मेलामा हो । तर अरु बेला पनि विभिन्न घटनाका गीत गाउदै सारङ्गी बजाइन्छ । हाम्रा बाबु, बाजे, जिजुबाजे, कुप्राबाजे, झुप्राबाजे, झुप्रबाजेका पनि बाजेदेखि नै यो बजाउन थालिएको थियो रे । बाजेले मलाई भन्नुभएको । काकाहरु शहरमा पनि बजाउदै हिंड्छन् नि, बिक्री पनि गर्छन् । विदेशीले पनि यसको धुन मन पराउछन् रे ।
अब सहरमा याद गरेर हेर्छु है त ।
विवेक र मङ्गलमान दिनभर सगै बसे, गै घुमे । विवेकले सारङ्गीका बारेमा थुप्रै कुरा जान्यो । गन्धर्व जातिका बारेमा पनि केही कुरा थाहा पायो । मङ्गलमान पनि कम्प्युटर भनेको कस्तो होला भनी मनमनै कल्पना गर्न थाल्यो ।
साझ घर फर्केपछि विवेककी आमाले सोध्नुभयो— ‘दिनभर कहा गयौं ?’
सारङ्गी बजाउने एउटा केटो रहेछ नि, मङ्गलमान भन्ने म त दिनभर उसैसग बसें कस्तो मज्जा भयो’— विवेकले भन्यो ।
आमा रिसाउनुभयो । उहाले कड्केर भन्नुभयो— ‘किन दिनभर त्यो फोहोरी गाइनेको छोरासग हिंडेको ?’
आमा ऊ त राम्रो मान्छे हो, कस्तो राम्रो गीत गाउ, सारङ्गी बजाउन त्यत्तिकै सिपालु छ ।
आमाले झन् रिसाउदै भन्नुभयो—‘जिद्दि नगर, त्यस्तासग हिंडिस् भने तबिग्रिनेछस् बुझिस् ?’
विवेकले केही जवाफ दिएन ।
भोलिपल्ट आमाले वैभव र वनितासग विवेकलाई पनि स्कुलमा पठाइदिनुभयो । उहालाई गाइनेको छोरासग लागेर आफ्नो छोरा बिग्रेला भन्ने ठूलो डर थियो । विवेक स्कुलमा पुग्यो । त्यहाका शिक्षकको अनुमति लिएर ऊ वैभवकै कक्षामा बस्यो । कक्षामा सबैले उसलाई हेरिरहे । नयामान्छे देखेपछि हेर्ने नै भए । यसले गर्दा उसलाई भने अप्ठ्यारो लाग्यो । शिक्षक कक्षाबाट निस्कनासाथ ऊ पनि बाहिर निस्क्यो ।
नजिकै एउटा नदी थियो । नदीको सङ्लो पानीमा हासहरु पौडिरहेका थिए । आकाशमा घाम चर्किरहेको थियो । विवेकलाई पनि पौडी खेलु“–खेलुलाग्यो । ऊ किनारमा लुगा फुकालेर नदीमा पस्यो । एक वेग त बाकटे हान्दै पूरा ग¥यो । उसलाई केही शीतल पनि भयो । उसले फेरि पौडनका लागि सुरु मात्र के गरेको थियो, पानीको भुमरीमा डुब्न पुग्यो ।
त्यत्ति नै बेला मङ्गलमान आइपुग्यो । किनारमा लुगा देखेर उसले नदीतिर नियाल्यो । उसले डुब्दै गरेको विवेकलाई देखिहाल्यो । उसले हत्तपत्त सारङ्गी भुईंमा फाल्यो । झटपट गरी नदीमा हामफाल्यो । ऊ पौड्न सिपालु थियो । विवेकको कपालमा समातेर तान्दै उसले किनारमा उता¥यो ।
मङ्गलमानले विवेकको ज्यान बचायो । यस कुराले सबैजना खुशी भए । विवेककी आमाले पनि यो कुरा थाहा पाउनुभयो । उहामङ्गलमानदेखि धेरै खुशी हुनुभयो । अघिल्लो दिन ब्यर्थै गाली गरेछु भनेर पछुतो पनि लाग्यो । उहाले मनमनै भन्नुभयो–‘ठीक समयमा उ त्यहानपुगेको भए मेरो छोराको हालत के हुन्थ्यो होला ? धन्य मङ्गगलमान ।विवेककी आमाले उसलाई शहरमा आफ्नै घरमा ल्याएर पढाउन थाल्नुभयो । आजकाल फुर्सद भयो कि विवेक सारङ्गी रेट्न थाल्छ । मङ्गलमान कम्प्युटरमा रमाइरहेको हुन्छ । उनीहरु खुब मिल्ने साथी भएका छन् ।

बालसाहित्य पढ्नेहरू चलाख र बुद्घिमान् हुन्छन्


राष्ट्रिय सभाग्रहमा केही समयअघि सम्पन्न भएको साझा बृहत् पुस्तक प्रदर्शनीमा आफ्ना छोराछोरीलाई सँगै लिएर आइपुगेका काठमाडौं सिफलका राजेश लामिछानेले भनेछोराछोरी बालकथा भनेपछि पढ्न हुरुक्कै गर्छन् । त्यसैले पुस्तक मेलामा छानीछानी किताब पाइन्छ भन्ने सुनेर आएको । 
  छेउमै उभिएर बुवाको कुरा सुनिरहेकी कक्षा ५ मा पढ्ने जानुकाले मुसुक्क हाँस्दै भनिन्मलाई बालकथा पढ्न मज्जा लाग्छ । उनका भाइ निखिलले पनि के कम थिए उनले पनि थपिहाले मलाई त चुट्किलाको किताब मनपर्छ । चित्रहरू धेरै भएको कथा पनि मनपर्छ ।
 यसपल्टको मेलामा काठमाडौंका मात्र होइन काठमाडौं छेउछाउका जिल्लाहरू नुवाकोट, धादिङ, ललितपुर र भक्तपुरलगायतका जिल्लाका अभिभावकहरू आफ्ना छोराछारीलाई मनपर्ने बालसाहित्यको किताब किनेर लगिदिन कस्सिएर आएका भेटिए । उनीहरूले रमाइलारमाइला बालसाहित्यका किताब पोको पारेर छोराछोरीलाई कोसेली लगिदिएको दृश्य साँच्चै रमाइलो थियो ।
 बुवासँगै किताबको पोको बोकेर दङ्ग पर्दै गरेकी मुनाले भनिन् मलाई यो मेलामा थुप्रै थरी किताब एकै ठाउँमा पाएकोमा खुसी लाग्यो । ल हेर्नुहोस् मैले किनेका किताब । उनले उत्साहित हुँदै आफ्नो झोला देखाइन् । उनको झोलामा रमाइला कथाका किताब र मेमोरी कसरी बढाउँने, बृहत् समान्यज्ञानलगायतका किताबहरू थिए ।
अनि उनले झन् उत्साहित हुँदै भनिन्– ‘थाहा छ, यी किताब बाबाले मलाई बर्थडेको गिफ्ट दिनुभएको हो नि !
    वास्तवमा यसपालिको पुस्तक मेला हेर्न थुप्रै अभिभावकहरू आए र बालबालिकाहरू पनि आए । तर काठमाडौं नैकापकी सुभलता नहकर्मीलाई यो प्रदर्शनीमा किताब छान्न धौधौ प¥यो । उनले गुनासो गर्दै भनिन्अलि स्पष्ट जानकारी दिने सिस्टम भएन । कुन किताब कता हो खोज्नै गाह्रो । अलि राम्ररी ठूलो मिलाएर म्याप बोर्ड  प्रदर्शनी ठाउँमा राखेर कुन खालको किताबको कुनो कता हो देखाएर प्रदर्शनी गरे राम्रो हुने थियो । यहाँ त सब घारघुर रहेछ । किताब खोज्नै गाह्रो !
      यसरी विद्यार्थी बालबालिकाहरू आफैले धाएर अनि अभिभावकले चासो देखाएर छोराछोरीलाई पढ्ने मौका दिनु राम्रो कुरा हो भन्छन् बाल चिकित्सक, विशेषज्ञ एवं समाजसेवी प्रा.डा. अच्युतमणि आचार्य । उनी भन्छन्वास्तवमा बालसाहित्य पढ्ने बालबालिकाहरू चलाख र वुिद्घमान हुन्छन् । त्यस्तै विचार राख्छन् मुना पत्रिकाका पूर्व सम्पादक एवं वरिष्ठ पत्रकार शिवप्रसाद भट्टराई । उनी भन्छन्बालसाहित्यले बालबालिकाको सिर्जनशील क्षमताको विकास गर्छ । साथै, उनीहरूलाई काम गर्न प्रेरित र अग्रसर पनि गराउछ ।
                                                                                                                       By Kartikeya

बालसाहित्य लेखनमा मेरा केही अभिमतहरू – कार्तिकेय घिमिरे


बालसाहित्य लेखन एउटा गम्भीर लेखन हो । जसरी एउटा सानो बालकलाई लिटो तयार गर्न आमाले भरपूर मिहिनेत गर्छिन्, त्यसरी नै एउटा बालबालिकाका लागि लेख्ने लेखककले रचना तयार गर्न विशेष मिहिनेत गर्नुपर्छ । त्यसैले यदि तपाईं रहरका लागि यो कामका सहभागी हुँदै हुनुहुन्छ भने तपाईंले बालबालिकाका लागि अन्याय गर्दै हुनुहुन्छ भन्ने कुरामा तपाई सचेत हुनुपर्छ ।
एउटा बालक, आजको आशा हो । ऊ अगुवा पनि हो । त्यसैले उसको लागि तयार गरिने साहित्यिक सामग्रीले विशेष महत्व राख्दछ । किनकि एउटा मानिस मष्तिष्कबाट संचालित हुन्छ । साहित्यले उसको मष्तिष्कलाई प्रभावित गर्ने काम गर्दछ ।
जब हामी बालसाहित्य लेखनको कुरा गर्छौं त्यो सँगै बालबालिकाको व्यवहार निर्माण, सामाजिकता र भाषाको सिकाइको पक्ष पनि गाँसिएर आउँछ । त्यसैले एउटा असल बालसाहित्यले सौहार्दपूर्ण बालकको निर्माणमा सहयोग गर्दछ र उसलाई भाषिक रुपमा दक्ष पनि बनाउछ । त्यसरी नै एउटा अपरिपक्व बालसाहित्यले बच्चाको भाषिक सिकाइलाई मात्र भ्रष्ट पार्दैन उसको व्यवहारिक र नैतिक पक्षमा पनि घात गर्दछ । त्यसैले बालसाहित्य लेखन अत्यन्त गम्भीर लेखन हो भनिएको हो ।
वास्तवमा बालकका लागि लेखिने साहित्य उनीहरुको उमेर समूह, समाज र पारिवारिक पृष्ठभूमि आदि जस्ता पक्षबाट सिधै प्रभावित हुनुपर्छ । उमेर समूह अन्तर्गत् रंगको संयोजन, भाषाको प्रयोगको अवस्था र कुन परिवेशको बच्चालाई के कुरा, कस्तो कुरा पढ्न दिदा वा पढेर सुनाउँदा राम्रो हुन्छ भन्ने कुरामा बालसाहित्य लेखक सदैव सचेत हुनु जरुरी छ । जसका लागि उमेर समूह अनुसारका बालबालिकाको रुचि, मनोविज्ञान र भाषिक स्तरका वारेमा एउटा लेखकले पर्याप्त ज्ञान हासिल गरेको हनुपर्दछ । यस आलेखमा यिनै पक्षमा केन्द्रित भई केही छलफल र वैचारिक मन्थन गर्ने काम गरिएको छ । साथै अनुसन्धानबाट प्राप्त केही तथ्यहरुको जगमा उभिएर विमर्श पनि गरिएको छ ।
एउटा बालक जो ६ वर्षको छ । सामान्य अवस्थामा निश्चय नै उसले स्वाद लिईलिई क्रम मिलाएर पढ्ने क्षमता ग्रहण गरिसकेको हुन्छ । उसमा प्रतिस्पर्धा गर्न चाहने, हतारिने र घरभन्दा बढी विद्यालयमा रमाउने स्वभाव हुन्छ । यिनीहरु प्रश्न गर्न पाउँदा रमाउँछन् । साथै अरुसँग घुम्न पाउँदा र अरुले खानेकुरा उपहार दिएमा दंग पर्ने स्वभावका हुन्छन् । साथै असफलतामा छिट्टै विचलित भई हाल्ने र रोइ हाल्ने यिनीहरुको स्वभाव हुन्छ । अनुसन्धानले के देखाएको छ भने यो उमेरका नानीहरु यी पक्षलाई विचार गरी लेखिएको रचना स्वाद लिएर पढ्छन् । जसले गर्दा उनीहरुको भाषिक स्तरमा पनि राम्रो टेवा पुग्दछ र उनीहरुको व्यक्तित्वको विकासमा पनि यसले मद्घत गर्दछ । यस खालको स्वभाव र व्यवहारको अवस्था एउटा बच्चामा ७ र आठ वर्षमा पनि रहिरहन्छ । यसमा उमेरको उकालो लाग्ने चरणसँगै समूहमा मिलेर काम गर्न रुचाउँने, रमाइलो गर्न, पटपट बोल्न, गल्ति सुधार्दै अघि बढ्न र शब्दभण्डार ह्वात्तै बढाउँन सक्नेजस्ता खूबी एंव स्वभावहरु थपिदै जान्छन् । साथै खेलकुदमा रमाउँने, समानता, सबैप्रति समान व्यवहार, भेदभाव मननपराउँने आदि जस्ता स्वभाव पनि रहन्छन् । त्यसैले एउटा लेखकले यो पक्ष पनि बुझ्नु आवश्यक छ ।
त्यस्तै जब ऊ ९ वर्षको पुग्छ । ऊ ज्ञान प्रति जिज्ञासु हुन थाल्छ । जानकारीमूलक खेलमा रुचि राख्छ । साथै निष्पक्ष व्यवहार खोज्ने र गुनासो गर्ने बानीको विकास हुन्छ । यस अलावा उसमा कुरालाई बढाइचढाइ गरेर तन्काएर भन्दा रमाइलो मान्ने, ठूलामाथि खोट लगाउँने र घुर्की लगाउँने आदि जस्तो स्वभावको विकास हुन्छ । यस अलावा आफ्नै लिंगको (केटा भए केटासँग र केटी भए केटीसँग) मिलेर राम्रो मित्रता राखेर काम गर्दा दंग पर्ने हुन्छ ।
त्यसपछि दश वर्षको उमेरमा परिवारका सदस्य र साथीभाइबीच रमाउँने र सही कुरा गर्न मनपराउँने साथै धेरै किसिमका किताब पढ्न रुचि राख्ने र आफ्ना कुरा अरुलाई भन्न रुचि राख्ने एवं हँसिलो भएर प्रस्तुत हुनेखालको हुन्छन् । अरुको कुरा सुन्ने, लगनशीलता र सहयोगी भावनाको विकास पनि यो उमेरका प्रमुख पक्ष हुन् ।
यसरी बढ्दै जब बालक ११ वर्षको हुन्छ तब उसमा तर्क गर्ने क्षमता बढ्दै जान्छ । ऊ फरक फरक कोणबाट समाजलाई हेर्न थाल्छ । आफूमै मग्न भई रमाउँने र निर्णय गर्दा अलमलिने दोधारमा पर्ने, नयाँ नयाँ काम गर्न रुचाउँने स्वभावको हुन्छ । यो उमेरमा उसमा अरुलाई ठाडठाडै भन्ने मुडी स्वभाव पनि रहन्छ । त्यसपछि १२ वर्षमा टेक्दा उसमा प्रौढको जस्तै व्यक्तित्व देखा पर्न थाल्छ । ऊ विवेकी र समझदार बन्छ । अर्काको दुःख मर्म बुझ्ने तथा साथीभाइलाई बढी महत्व दिने स्वभाव विकसित हुन्छ । यही उमेरको क्रममा केटीहरुमा रजस्वला हुने गर्दछ । केटाकेटी दुवै क्रमशः किशोरावस्थातिर लम्कन्छन् ।
साँच्चै भन्नुपर्दा यहाँ चर्चा गरिएको उमेरका विषयमा, यिनको शारिरीक, मनोवैज्ञानिक, भाषिक र सामाजिक विकासका वारेमा एउटा लेखकले जान्नुपर्ने, बुझ्नुपर्ने र थाहा पाउनुपर्ने कुराहरु थुप्रै छन् । यी त झलक मात्र हुन् । तथापि भविष्यमा एउटा असल पाठक र एउटा सफल व्यक्तित्व निर्माण भएको नागरिक तयार गर्नका लागि यी उमेरका वारेका प्रस्तुत गरिएका कुरालाई गमेर लेख्न सक्दा पनि पठनीय र रुचिकर बालसाहित्य तयार हुने धरातल निर्माण हुनसक्ने कुरामा विमति राख्न सकिन्न ।
 यस अलावा हामी कहाँ अहिले लेखिदै आएको साहित्य अधिकांशतः यी उमेर समूहका लागि बढी लक्षित पाइएकाले पनि यी उमेर समूहवारे थोरबहुत चर्चा गर्नु यहाँनिर उपर्युक्त हो भन्ने लागेको छ ।
अब यो भन्दा तल्लो उमेर समूह वा प्रारम्भिक तहको बालबालिकाका लागि लेख्न ती बालबालिकाको रुचि र स्वभावारे केही चर्चा गरौं । नेपालको सन्दर्भमा भन्दा हालसम्म प्रकाशित बालसाहित्यमध्ये दुई प्रतिशतमात्र यो उमेर समूका लागि लक्षित पुस्तकहरु प्रकाशित भएका छन् भन्ने एक अनुसन्धानले देखाएको छ । जुन दुःखलाग्दो अवस्था हो । यो उमेर समूहका लागि चर्को रंग रहेका चित्र भएका किताबहरु हुनुहँुदैन, सादा वा सालिन रंग हुनुपर्छ । किताबलाई यताउति चलाएर सार्न मिल्ने, किताबको ढोका खोल्न मिल्ने र किताब छुँदा विभिन्न आवाज आउने जस्ता रमाइला प्रकृतिका उनीहरुका दैनिक क्रियाकलापसँग सम्बन्धित शब्द थोरै भएका वा शब्द नै नभएका क्रियाकला मात्र भएका पनि पुस्तक हुन सक्छन् । जन्मेदेखि २ वर्षसम्मको बच्चालाई पुस्तकप्रति लगाव पैदा गर्न वा किताब छ है भनेर स्मृतिमा राख्ने हेतुले मात्र मोटा गाता भएका यस्ता किताबको तयारी उत्तम मानिन्छ ।
त्यस्तै २ देखि ४ वर्षसम्मको बच्चाको लागि भाषाको सिकाइको सुरुको चरणका वर्णमालाको ज्ञान दिने, लय हालेर गाउदै र भन्दै सुनाउन सकिनेखालका र विपरीतार्थी शब्द एवं ५ शब्दको वाक्य संरचनामा तयार भएका चित्रकथाहरु पनि उनीहरुका लागि रुचिकर हुन्छन् । जसमा उनीहरुलाई नयाँ पात्रको अनौठो दैनिकीवारे हाउभाउसहित प्रस्तुत गरिदा त्यो प्रभावकारी हुन्छ ।
त्यस्तै ४ देखि ६ वर्षका नानीको हकमा छोटा, रमाइला र लय मिलेका कथा र कविताका पुस्तक मनपराउँछन् । के कसरी चल्छ भन्ने जस्ता जिज्ञासा मेटाउने सामग्री तर्फ पनि यिनीहरुको ध्यान बिस्तारै बढ्दै जान्छ । त्यसैले सरल, लयात्मक जानकारी किताबहरु यो उमेरका लागि बढी रुचिकर हुन्छन् भन्ने अनुसन्धानले देखाएको छ ।
अब अन्त्यमा अलिकति बालसाहित्य लेखनको वर्तमान अवस्थावारे टिप्पणी गरौं । अहिले हरेक महिना ५ वटाको हाराहारीमा वार्षिक ६० वटा जति बालसाहित्यका किताब छापिइरहेको अवस्था छ । तर ती किताब लेखनको अवस्था निकै अलमलको छ । त्यो यस अर्थमा कि लेखक कुन उमेर समूहका लागि लेखिरहेको छु भन्ने कुरामा स्पष्ट हुन सकिरहेको देखिन्न । यस अवस्थालाई दृष्टिगत गरी अब यहाँनिर यही विषयको सेरोफेरोमा केही चर्चा गर्नु उचित हुन्छ भन्ने ठानेको छु ।
लेखक साथी, तपाईंले लेख्नुभएको किताब सुरुवात एउटा उमेर समूहको, बीचको अर्को उमेर समूहको र अन्त्य अर्को उमेर समूहको रुचिसँग मिल्दो भइदियो भने के त्यो किताब पठनीय बन्ला त ? त्यो पक्कै पनि बन्दैन । त्यसैले सुरुको चरणमा लेखकले अरु कुनै कुरामा अलमल नगरी यी कुरामा ध्यान दिनु आवश्यक देखिन्छ ।
लेखनको सन्दर्भमा सर्वप्रथम आफूले लेख्ने चरणलाई तीन चरणको चश्माबाट हेर्ने, जन्मदेखि ५ वर्ष, ६ देखि ९ वर्ष र १० देखि १३ वर्ष । हाम्रो परिवेशमा यो उचित हुन्छ भन्ने मलाई लाग्दछ । यसरी हेरिसकेपछि तपाईंले तयार गर्नुभएको योजनालाई यो आलेखमा रहेका कुराहरुले थोरबहुत सहयोग गर्न सक्छन् । तथापि तपाईंले लेख्ने निर्णय गर्नुभएको उमेर समूहका बालबालिकाको गतिविधिको प्रत्यक्ष अवलोकन, उनीहरुसँग गफ गर्न, खेल्न र समय बिताउँन निकाल्ने समय र संसर्गले तपाईंलाई थप धेरै कुराहरुका सम्बन्धमा निर्देशित गर्नेछ । जसले गर्दा तपाईंले उत्कृष्ट बालसाहित्य सिर्जना गर्न सक्नु हुनेछ । जसका लागि तपाईंलाई अग्रिम शुभकामना छ । 
                            मिति २०६८ फागुन ९        

बालगीत — प्रभा भट्टराई



सानैदेखि हाम्रो मन भाँच्न नखोज
हामीलाई पैसासँग साट्न नखोज
चाँहिदैन सुन चाँदी सम्पत्तीको धारो
हामीलाई पैसाभन्दा बाबाआमा प्यारो
न्यानो काख छुटाएर किन पार्छौ पाखा
सिक्न थाल आजैबाट ममताको भाका
सन्ततीको मोलतोल जाँच्न नखोज
हामीलाई पैसासँग साट्न नखोज
दामी दामी बोतलमा दूध खान दिन्छौ
बोली फुट्दा बोर्डिङमा बन्द गरिदिन्छौ
पैसा तिरे छुट्ने भयो तिम्रो अभिभारा
आया हाम्री आमा भइन् तिमी भयौं टाढा
साइनोको डोरी हाम्रो काट्न नखोज
हामीलाई पैसासँग साट्न नखोज ।